बनेपा : काभ्रे जिल्लामा प्राकृतिक विचरण, अध्ययन, अनुसन्धान र मनोरञ्जन गर्न आउने विदेशीको संख्यामा वृद्धि भएको छ। महाभारत पर्वत श्रृंखलामा अवस्थित प्राकृतिक मनोरम दृश्य, वनस्पति, वन्यजन्तु र कृषि संस्कृति हेर्न पाउने भएसँगै विदेशी पर्यटक आकर्षित भएका हुन्।
होम स्टेमार्फत ग्रामीण पर्यटनका रूपमा महाभारतका जंगलको अध्ययन, अवलोकन र मनोरम दृश्यका लागि पर्यटक आउने गरेको बेथानचोक गाउँपालिकास्थित माउन्ट महाभारत होमस्टे सञ्चालक कमल नेपाल बताउँछन्। ‘पर्यटकलाई आकर्षण गर्न स्थानीय कला संस्कृति कृषिमा संलग्नता गराउँदै प्रकृतिसँग घुलमिल गराउँछौं’, उनले भने, ‘जसले मनोरञ्जनसँगै काम सिक्ने, ग्रामीण वातावरणमा रम्ने, घुलमिल हुने मौका पाउँदा पर्यटकहरू पछिल्लो समय आकर्षित भएका हुन्।’ उनका अनुसार, विश्वका विभिन्न मुलुकबाट आएका पर्यटकलाई प्याकेज बनाएर पर्यावरणसँगै घुलमिल गराइन्छ।
‘अर्गानिक खेतीमा संलग्न गराउने, मनोरञ्जन, हाइकिङ, ट्रेकिङ र सांस्कृतिक विविधता अध्ययन संलग्न, प्राकृतिक वस्तुको अवलोकन र चिनारी गर्ने गरेका छौं’, नेपालले थपे, ‘अर्गानिक तरकारी उत्पादन गर्न लगाउँछौ र खुवाउँछौं। साथै योग र ध्यानको सेवासमेत दिने गरेका छौं, जसले आन्तरिक पर्यटकको संख्यामा समेत वृद्धि भएको छ।’ ‘इको–टुरिष्ट’ गाउँघरमा उत्पादन भएका तरकारी, अन्नपात र अन्य स्रोतसाधनलाई उपयोग गर्दै पाहुनालाई स्वागत सत्कार गर्ने गरेको उनले बताए। होमस्टेको केन्द्रीय प्रचारप्रसार प्रमुख समेत रहेका नेपालले जिल्लामा विभिन्न मुलुकबाट वार्षिक दस हजारभन्दा बढी पर्यटक भित्रने गरेको बताए।
उनका अनुसार, होमस्टेले रोजगारीको सृजना गर्नुका साथै ग्रामीण भेगमा रहेका स्रोत साधनको उपयोगिता समेत बढेको बताए। उनका अनुसार, जिल्लाका माउन्ट महाभारत होमस्टेमा वार्षिक पाँच सय, पात्लेखेत होमस्टेमा तीन सय, बल्थली होमस्टेमा पाँच सय, बेथानचोक सामुदायिक होमस्टेमा दुई सय, पनौतीको सामुदायिक होमस्टेमा पाँच सय, शंखु होमस्टेमा दुई सय, मानेगाउँ सामुदायिक होमस्टेमा दुई सय, भैंसेपाटी नमस्ते होमस्टेमा एक सय र बनेपा रेम्बो होमस्टेमा वार्षिक दुई सय ५० भन्दा बढी पर्यटक भित्रने गरेको छ।
तीन हजार उचाईमा रहेको महाभारत श्रृंखलामा रहेको नारायणथानबाट हिमाल, तराई, पहाडको दृश्यावलोकन गर्न सकिनुका साथै हिम श्रृंखला र विभिन्न जैविक विविधताको अवलोकन अध्ययन गर्न सकिन्छ। समुद्र सतहबाट करिब २७ सय मिटर उचाईमा विहावर क्षेत्रस्थित पर्वत अग्लो फूलचोकीमा जैविक विविधतासँगै ट्राउट माछा, विभिन्न पशुपंक्षीको अवलोकन, फूलचोकी नजिक उक्त ठाउँबाट पूर्वमा कञ्चनजंघा र पश्चिममा माछापुच्छ्रे हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने कुशादेवी सरोकार समाजका इन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार, मनोरम दृश्यसँगै पर्यटकलाई हाइकिङ, प्याराग्लाइडिङ र जैविक विविधताको अध्ययन अवलोकन गर्नसमेत सजिलो भएकाले पछिल्लो समय पर्यटक आकर्षित भएका छन्।
ग्रामीण पर्यटनको विकासले पर्यापर्यटन विस्तार, सीप विकास र व्यावसायीकरण, कृषिमा विविधीकरण र व्यावसायीकरण, जीविकोपार्जनका वैकल्पिक स्रोतहरूको पहिचान र कार्यान्वयन, रोजगारी तथा प्राकृतिक स्रोतसाधनको संरक्षणमा भएको छ। ‘पछिल्लो समय पर्यटनको आगमनसँगै गाउँघरमै लगानी र पुँजी वृद्धिको वातावरण समेत वृद्धि हँुदै जाँदा करौडौं रकम भित्रने गरेको छ’, नेपालले थपे। ग्रामीण भेगमा कच्ची सडक, यातायात र अन्य भौतिक पूर्वाधारको अभाव, प्रभावकारी सुरक्षा व्यवस्था र पर्यटकीय क्षेत्र विकास गर्न पर्याप्त बजेट, प्रचार प्रसार र गुरुयोजना नहँुदा पर्यावरण पर्यटनमा समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ।